निगमको साउदी अरेबियाको रियादमा सिधा उडान सुरु, एकतर्फी ३७ हजार भाडा

काठमाडाैं | बैशाख १०, २०७९

निगमको साउदी अरेबियाको रियादमा सिधा उडान सुरु, एकतर्फी ३७ हजार भाडा

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियाको रियादमा सिधा उडान सुरु गरेको छ । निगमको वाइड बडी ए ३३० जहाजले रियादमा शुभारम्भ उडान भरेको हो ।

 

उद्घाटन उडानमा विभिन्न मन्त्रालयका उच्च अधिकारी, निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित विभिन्न विभागका प्रतिनिधि, व्यवसायीलगायत सहभागी छन् ।

 

निगमका अध्यक्ष अधिकारीले विविध बाधा अवरोधलाई पन्छाउँदै रियादमा ऐतिहासिक उडान सुरु गरिएको बताउनुभयो । राष्ट्रिय ध्वाजाबाहकको यो नयाँ गन्तव्यको सुरुआतका लागि सहयोग गर्ने सम्पूर्णमा विशेष आभार व्यक्त गर्दछु”, अध्यक्ष अधिकारीले भन्नुभयो ।

 

उहाँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको नेतृत्व र मन्त्रालयको टिम तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा रियाद उडान सञ्चालन गर्न सफल भएकोमा सबैप्रति आधार प्रकट गर्नुभयो । साथै उहाँले परराष्ट्र मन्त्रालयलगायत सबै शुभेच्छुक एवं सहयोगीप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

 

निगमले हालै रियाद, दमाम र जेद्दामा उडानको अनुमति पाएको थियो । रियादस्थित नागरिक उड्डयन कार्यालयको जेनरल अथोरिटी अफ सिभिल एभिएसन्सले त्यहाँका तीनवटा सहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको थियो ।

एकतर्फी ३७ हजार भाडा

 

काठमाडौँ–रियाद गन्तव्यका लागि एकतर्फी भाडादर रु ३७ हजार कायम गरिएको जनाइएको छ । निगमका प्रवक्ता अर्चना खड्काले हाललाई एकतर्फी भाडादर कायम गरिएको बताउनुभयो । निगमले साउदी अरेबिया उडानका लागि वाइडबडी र न्यारोबडी दुवै जहाजले उडान गर्नेगरी ‘स्लट’ पाएको छ ।

 

यो गन्तव्यको उडानमा निगमले सहुलियतपूर्ण भाडादर, यात्रुलाई सुविधा ‘इनफ्लाइट’ खाना तथा रियादबाट फर्कंदा यात्रुले ४० केजी लगेज सुविधा पाउनेछन् । काठमाडौँ–रियाद एकतर्फी उडान अवधि ६ घण्टा १५ मिनेट र रियाद-काठमाडौँ उडान अवधि चार घण्टा ५० मिनेटको हुने निगमले जनाएको छ ।

 

नेपाली कामदारको बाहुल्य रहेको मुलुक साउदी अरबको उडानले निगमलाई आर्थिकरूपमा लाभ हुनसक्ने अनुमान गरिएको छ । विभिन्न पेसा व्यवसायमा पनि साउदीका विभिन्न गन्तव्यमा नेपाली छन् । अन्य मुलुकबाट ट्रान्जिट भएर आउन पनि यात्रुलाई सहज हुने भएकाले यो गन्तव्य उपयोगी हुने विश्वास गरिएको छ ।

आठ देशका १० गन्तव्यमा उडान विस्तार

नेपाली ध्वजावाहक वायुसेवा निगमको रियादको उडानसँगै अब आठ देशका १० गन्तव्यमा नियमित उडान हुने भएको छ । निगमले यसअघि भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको थियो । निगमले भारतको नयाँदिल्ली, मुम्बई, बैंग्लोर, दुबई, दोहा, क्वालालम्पुर, हङकङ, बैङ्कक र जापानको नारितामा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।

 

देशको शान र पहिचान जोडिएको निगमको अन्तर्राष्ट्रिय गन्तव्यको उडानले कूटनीतिक सम्बन्ध विस्तार र बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन राष्ट्रिय ध्वजावाहकको ऐतिहासिक भूमिका रहँदै आएको छ र अगामी दिनमा पनि यो कायमै रहने निगमको विश्वास छ ।

कार्यकारी अध्यक्ष अधिकारीले निगमको व्यवस्थापन सुधारदेखि सेवा सुदृढीकरण र बजार विस्तारमा निगम व्यवस्थापन अहोरात्र लागिपरेको बताउनुभयो । व्यवस्थापनको मेहनत, कर्मचारीको साथ र सहयोगले नै छोटो समयमा निगमभित्र धेरै सकारात्मक परिवर्तन गरिएको र यसलाई परिणाममुखी बनाउन निगम अग्रसर रहेको उहाँको भनाइ छ ।

अन्य काममा पनि निगमभित्रका कर्मचारीको सहयोग र तालुकदार मन्त्रालय र नियामक निकायसँगको समन्वयमा केही नतिजामुखी काम भएको पनि अध्यक्ष अधिकारीको जिकिर थियो ।-

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्